नेपाल टेलिकमले वार्षिकोत्सव मनाउँदै, २ करोड १८ लाखभन्दा धेरै ग्राहक

 काठमाण्डौँ - नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकम आजदेखि २१औँ वर्षमा प्रवेश गरेको छ । विसं २०६० साल माघ २२ गते स्थापना भएको कम्पनीले आज विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ ।

टेलिकमले मोबाइल टेलिफोन सेवा, जीएसएम, जीपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ । कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन सेवा, ब्रोडब्याण्ड र निश्चित–लाइन इन्टरनेट सेवा इन्टरनेट एसएमएस सेवाहरू उपलब्ध गराएको छ ।

गएको मंसिर मसान्तसम्म देशभरका २ करोड १८ लाख ४४ हजार ५ सयभन्दा बढीले भ्वाइस सेवा तथा २ करोड १५ लाख ४४ हजार ३ सयभन्दा बढीले इन्टरनेट सेवा लिइरहेका कम्पनीले जनाएको छ । देशका दुर्गम तथा विकट ठाउँमा दुरसञ्चारको सेवा विस्तारका लागि पूर्वाधार निर्माणका कामलाई तीव्रता दिइरहेको कम्पनीले जनाएको छ ।

विसं २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो । विसं २०६१ देखि यसलाई नेपाल टेलिकम भन्न थालिएको हो ।