मायादेवी दानपेटिकाबाट एक करोड भन्दा बढी भेटी सङ्कलन

काठमाडौँ । बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट रु एक करोड भन्दा बढी भेटी संकलन भएको छ ।

आर्थिक वर्ष २०८०–८१ अन्तर्गत दोस्रोपटक शुक्रबार सम्पन्न भएको दानपेटिका गणनाबाट रु एक करोड ६ लाख ४० हजार भेटी सङ्कलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

कोषाध्यक्ष भट्टराईको नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाको उपस्थितिमा यही पुस १७ गते दानपेटिका खोलिएको थियो ।

मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ ।

पछिल्लो समय लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् ।