आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै

काठमाडौँ - सरकारले आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै छ । स्वास्थ्य मन्त्रालयको आह्वानमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत हिजो खुवाउन छुटेका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो ।

सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रुपमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने गरेको छ ।

तर, यसपटक सो समयमा नेपालीहरूको महान पर्व बडादशैँ परेपछि पूर्व निर्धारित मिति सार्नु परेको थियो । जसका कारण यसपटक सो कार्यक्रम कात्तिक १७ र १८ गते राखिएको हो । अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।