सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस

 धनगढी - सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् । शाहले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समय दिएका थिए । शाह योसँगै दोस्रो पटक मुख्यमन्त्री बन्ने भएका छन् । उनले यसअघि १४ महिना नेतृत्व गरेर राजनीतिक समीकरण फेरिएपछि गत चैत २२ गते राजीनामा दिएका थिए ।

पुनः समीकरण बदलिंदा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दीर्घ सोडारीले गत शुक्रबार राजीनामा दिएपछि शाहलाई फेरि मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो । सुदूरपश्चिमको मुख्यमन्त्रीको दौडमा कांग्रेसबाट प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा पनि थिए ।