विदेशबाट फर्किएको चार दिनमै घाँटीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या  

काठमाडौँ ।  झापामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

३२ वर्षीया श्रीमती मनसरी राजबंशीको हत्या गरेको अभियोगमा बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बस्ने ३३ वर्षीय देव नारायण राजबंशीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादका कारण देव नारायणले मनसरीको घाँटीमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट मनसरीको तत्कालै ज्यान गएको छ ।

घटनाबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले देव नरायणलाई खुकुरीसहित पक्राउ गरेको हो ।

देवनारायण वैदेशिक रोजगारीबाट ४ दिनअघि मात्रै बिदामा घर फर्किएका थिए । श्रीमतीलाई अर्कैसँग लागेको शंका गरिरहेका उनले त्यही विषयमा विवाद चल्दा श्रीमतीको ज्यान लिएको प्रारम्भिक बयान प्रहरीलाई दिएका छन् ।