गाजामा ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो, ७ हजार विदेशीलाई इजिप्ट ल्याउने तयारी

 काठमाण्डौँ - इजरायल र हमासबीच जारी द्वन्द्व शुरू भएयता इजरायली आक्रमणमा परी गाजा क्षेत्रमा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित मृत्यु हुनेको संख्या नौ हजार ६१ पुगेको बताए। उनले घाइतेको संख्या ३२ हजार नाघेको जानकारी दिए ।

इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५ वटा आक्रमण गर्दा २५६ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको उनको भनाइ छ ।

गाजाको सरकारी सञ्चार कार्यालयले इजरायलले आफ्नो आक्रमणको शुरूआतदेखि गाजा पट्टीमा १० भन्दा बढी बम खसालेको र इजरायलले प्रयोग गर्ने विस्फोटक पदार्थको मात्रा दुई हजार ५०० टनभन्दा बढी वा प्रतिवर्ग किलोमिटर लगभग ७० टन पुगेको अनुमान गरेको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासि आक्रमण गरी हजारौँ रकेट प्रहार गरेको थियो । इजरायली भूमिमा घुसपैठ गरी गरेको आक्रमणमा इजरायलमा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।

यसको जवाफमा इजरायली सेनाले गाजा पट्टीमा हवाई आक्रमण र स्थलगत कारबाही शुरू गरेको थियो भने प्यालेस्टिनी इलाकामा नाकाबन्दी लगाएको थियो ।