मौसम : गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी, कोसीमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ - देशका केही भू–भागमा आज वर्षा सम्भावना छ । देशभर आंशिकदेखि साधारणतया बदली हुँदा बिहान कोसी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।