दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ -  प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका छन् । 

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यान दिई दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका विकल्प र उपायबारे छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री ओलीले दुई विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिए । उनले ती दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि चासो देखाएका अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानसम्बन्धी विषयलाई नियामक निकायले चाँडो टुङ्ग्याएको खण्डमा सरकारले तालिकामा राखेर अगाडि बढाउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले निर्माण भएको लामो समयसम्म दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नु परेको तथा काठमाडौँ विमानस्थलको क्षमताभन्दा बढी उडान र यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेकाले यसलाई गम्भीर रुपमा लिन आग्रह गरे ।