विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो स्वयंसेवक  

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले सात प्रदेश र ७७ वटै जिल्लामा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ।

रेडक्रसले यस वर्ष अत्याधिक वर्षा हुने मौसम विज्ञहरूको पूर्वानुमानसँगै सबै जिल्लामा आफ्ना तालिमप्राप्त स्वयंसेवक खटाइ विपद् पूर्वतयारीका कामहरू अघि बढाएको जानकारी दिएको छ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले पछिल्लो समय मनसुन भित्रिसकेको र बढी वर्षा हुने आँकलनबीच हुनसक्ने सम्भावित जोखिमलाई न्युनीकरण गर्न विपद् पूर्वतयारीका कामहरू पनि अघि बढाएको जानकारी दिए।

रेडक्रसले विपद् पूर्वतयारीस्वरुप मनसुन पूर्वतयारी योजना निर्माण गरेको उल्लेख गर्दै उनले मनसुन पूर्वतयारीका सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट ७७ वटै जिल्लामा रहेका तालिमप्राप्त स्वयंसेवकहरूको विवरण परिचालनका लागि अध्यावधिक गर्ने काम सम्पन्न भएको जानकारी दिए।

उनले सातै प्रदेश र ७७ वटै जिल्लामा मनसुनको पूर्वतयारीका लागि अभिमुखीकरण सम्पन्न भइसकेको जानकारी गराए। 

उनले मजुङ, मोरङ, सुनसरी, रोल्पा, ओखलढुंगा, झापा, कास्की, दाङ, ताप्लेजुङलगायतका जिल्लामा ठूलो मनसुनको प्रभाव देखिएको र ति जिल्लाहरुमा भएका क्षतिमा रेडक्रसले राहत सामग्री प्रदान गरिसकेको पनि बताए।

उनले सबै मिलेर विपद् प्रतिकार्यमा जुटेमात्रै क्षति न्युनिकरण गर्न सकिने बताए।