नेकपा एसको केन्द्रीय कमिटी बैठक आज, यस्ता छन् एजेण्डा

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले गरेको कार्यसम्पादनको समीक्षाबारे आजको बैठकमा छलफल हुने बताइएको छ ।

केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयका अनुसार विधानअनुसार बनाइएको ‘क्लष्टर’ का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने छ । बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छ ।