जनकपुरधाम—अयोध्या रेल सेवा चाँडै शुरु हुने

 जनकपुरधाम- जनकपुरधाम—अयोध्या रेल सेवा चाँडै सञ्चालन हुने भएको छ । भौतिक मन्त्रालय तथा नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल सञ्चालनको तयारी अन्तिम चरणमा रहेको जनाएको हो । 

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । 

उनले २०८० पुस १ गते भौतिक मन्त्रालयमार्फत जनकपुरधामबाट अयोध्या हुँदै दिल्लीसम्मका लागि रेल सेवा सञ्चालनमा ल्याउने तयारी गरिए पनि पहिलो चरणमा अयोध्यासम्म मात्रै सञ्चालनमा आउने बताए । महाप्रबन्धक झाले पहिलो चरणमा अयोध्यासम्म मात्रै रेल सञ्चालनमा ल्याउने तयारी गरिए पनि दिल्लीसम्म रेल सेवा सञ्चालन गर्न पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले साताको एकदिन अयोध्यासम्म जनकपुरधामबाट रेल गुड्ने तयारीस्वरुप समय तालिकासमेत सार्वजनिक गरिसकेको बताए ।