‘केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट’ प्रतियोगिता : आर्मीलाई हराउँदै मधेश प्रदेशको जित 

 पोखरा - पोखरामा आयोजित ‘केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । आजको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको हो ।

मधेशले दिएको १३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२४ मात्र बनाउन सक्यो । सोमपाल कामी १६ र विवेक यादव अविजित २५ रन बनाए पनि आर्मीलाई जित दिलाउन सकेनन् । आर्मीका कप्तान विनोद भण्डारीले ३२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाएर आउट भए । बलिङतर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका शाहले १९ रन खर्चेर ४ विकेट लिएका हुन् । प्रदीप पासवान २ र प्रतीक यादव १ विकेट लिए ।


यसअघि पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएका थिए ।

बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३–३, सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए । उपाधि जितेको मधेसले नगद ५ लाख हात पार्‍यो । फाइनलमा मधेशसँग पराजित भएको आर्मीले २ लाख ५० हजारमा चित्त बुझाउन वाध्य बन्यो ।