एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोली बस्ने 

 काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक यही साउन १८ गते केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

विधानअनुसार बनाइएको ‘क्लष्टर’का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छ ।