अहिले नै नयाँ पार्टी खोलिहाल्ने पक्षमा छैन : नेता रावल

काठमाडौँ । नेकपा (एमाले)  का नेता डा.भीम रावलले तत्काल नयाँ पार्टी खोलिहाल्ने पक्षमा आफू नरहेको बताएका छन् ।

नवलपुर सदरमुकाम कावासोतीमा संचारकर्मीसँग कुरा गर्दै नेता रावलले यसबारेमा विभिन्न पार्टीका नेताहरूसँग निरन्तर छलफल गरिरहेको र सुझाव मागिरहेको बताए ।

पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका नेता रावलले आफूलाई अछाम जिल्ला अधिवेशन हुँदै एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा निषेध गरिएको भन्दै आफू राजनीतिको एउटा घुम्तीमा पुगेको टिप्पणी गरेका छन् । त्यतिबेला उनले आफूले लिने मोडबारे केही दिनमा सार्वजनिक गर्ने समेत बताएका थिए ।

‘‘एमाले नेतृत्वबाट मलाई घचेटी–घचेटी घुम्तीमा पुर्‍याउने काम गरिएको छ,’’ नेता रावलले भने, ‘‘यस्तो अवस्थामा अव के गर्ने भन्ने विषयमा धेरै साथीहरूसँग मेरो परामर्श, कुराकानी जारी छ, पार्टी खोल्न पर्‍यो भने व्यवस्थित तरिकाले आफ्ना कुराहरूलाई खुल्ला झण्डा जस्तै बाहिर ल्याएर गर्छु, अहिले नै पार्टी छोड्ने भन्ने कुरा चाहिँ होइन ।’’

एमाले छोडेर नयाँ पार्टी खोल्ने काम गोप्य रूपमा नहुने भन्दै रावलले भने, ‘‘पार्टी खोल्न पर्‍यो भने सार्वजनिक रूपमै हुन्छ, अहिले नै त्यो विन्दुमा पुगिहालेको छैन ।’’ पार्टीमा विधि, प्रणाली र सिद्धान्त मिचिएको, आदर्श र नीतिहीन क्रियाकलाप भएको भन्दै नेता रावलले त्यसले पार्टीलाई कमजोर बनाउने बताए । त्यसलाई पार्टीले सच्चाउनु पर्ने उनको भनाइ थियो ।

यही कुरा पार्टीमा राख्ने मन भएपनि पार्टी सदस्यबाहेक आफू केही नभएकाले जनताको बिचमा राख्ने अधिकार भने सुनिश्चित रहेको बताए । ‘‘म त एउटा पार्टी सदस्य मात्र हुँ, सदस्यले जे गर्न सक्छ म त्यो गर्छु, बाँकी कुरा के गर्ने त्यो त पार्टी नेतृत्वले सोच्नुपर्छ,’’ रावलले भने ।

सबैलाई समेटेर पार्टी विधिबाट अघि बढ्नु पर्ने भन्दै त्यसो नभए समाजवाद ल्याउने कल्पना असम्भव हुने र कम्तीमा जनताको बहुदलीय जनवादअन्तर्गत अघि बढ्ने कुरा पनि असम्भव हुने उनको भनाइ थियो ।

अर्को प्रसङ्गमा नेता रावलले सहकारीको रकम अपचलन गर्ने जोसुकै भए पनि कडा कारबाही हुनु पर्ने बताए । ‘‘नेपालको संविधानले नै सहकारीलाई अर्थतन्त्रको तीनमध्ये एउटा खम्बा मानेको छ, तर केही ठगहरूले दुई खर्बभन्दा बढी रकम ठगेको र एउटै संस्था गोरखा भिडियो १६ अर्बभन्दा बढी ठगेको तथ्यहरू बाहिर आइरहेका छन्,’’ रावलले भने ।