आजको शेयर बजार घट्यो, कारोवार रकम कति ? 

काठमाडौँ - सोमबार पनि सेयर बजार परिसूचक नेप्से घट्न पुगेको छ । आइतबार दिन १७ अंकमाथिले घट्दै २ हजार १८ अंकमा झरेको नेप्से सूचक सोमबार पनि ६.२६ अंकले घट्दै २ हजार १२.०७ अंकमा झरेको हो ।

सोमबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.९१ अंकले घट्दै ३५५.६६ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 
६ अंकले सूचक घटेको यस दिन २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

सोमबार होटल तथा पर्यटन र ट्रेडिङ दुई समूहको उपसूचक बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । कूल २४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा सोमबार ८६ वटा कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ भने १५१ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ८ कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ । 

सोमबार पनि उच्च कारोबारको शीर्ष स्थानमा सर्वोत्तम सिमेन्ट रहेको छ । कम्पनीको मात्र आज ४७ करोड २९ लाख १७ हजार रुपैयाँ बराबरको सेयर सोमबार बजारमा कारोबार भएको छ । यस्तै कम्पनीको सेयर मूल्य भने सोमबार ३.४४ प्रतिशतले घटेर प्रतिकित्ता ९४१ रुपैयाँमा झरेको छ । 

सोमबार गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र मै खोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले घट्न पुगेको छ ।