प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट : विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा

काठमाडौँ - विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको लिगको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

आर्मीको जितसँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । आर्मीले फाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पुलिस लिग चरणको दुई खेल अगावै फाइनमा पुगेको थियो ।

जितसँगै आर्मीले नौ खेलबाट १४ अङ्क बनायो । एक खेल खेल्न बाँकी पुलिसले अपराजित रहँदै आठ खेलबाट १६ अङ्क बनाएको छ । आर्मीको जितसँगै बागमती र मधेशको फाइनल पुग्ने लक्ष्य पूरा हुन सकेन । आर्मी, पुलिस, बागमती र मधेश प्रदेश एलिट ट्रफीको लागि छनोट भएका छन् ।