SHARE
Samata Press · मङगलबार २० असो २०८३ ०८:३६ PM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय सदस्यमा गोवर्द्धन कोलीको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गोवर्द्धन कोलीले केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) पदमा उम्मेदवारी दिएका छन्। कोलीले नेपाली कांग्रेसको संगठन सुदृढीकरण, सामाजिक समावेशिता र समृद्धिका मुद्दालाई प्राथमिकतामा राख्दै केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी अघि सारेका हुन्। उनको चुनावी प्रचार सामग्रीमा “स्वस्थ कांग्रेस, समृद्ध नेपाल” भन्ने नारासहित पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) का उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ। उम्मेदवार कोलीले २०५५ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनी दलित समुदायको राजनीतिक प्रतिनिधित्व र संगठन निर्माणमा सक्रिय रहँदै आएका छन्। उनी २०६६ सालमा दलित संघ, दार्चुलाको सभापतिको जिम्मेवारी सम्हालेको तथा नेपाली कांग्रेसका १३औँ, १४औँ र १५औँ महाधिवेशनमा दार्चुलाबाट महाधिवेशन प्रतिनिधि बनेका थिए । उनले २०७२ सालमा नेपाली कांग्रेस दार्चुलाको पार्टी सचिवको जिम्मेवारीसमेत सम्हालेका थिए । उनले भूमि समस्या समाधान आयोगमा विज्ञ सदस्यका रूपमा काम गरेका छन् । दलितको हकहितमा कार्यरत संस्था  नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका महासचिव समेत रहेका छ्न् । कोलीले समाजशास्त्र तथा कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।  राजनीतिक तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका कोलीले आफ्नो उम्मेदवारीमार्फत दलित समुदायको प्रतिनिधित्वलाई पार्टीको केन्द्रीय तहमा थप प्रभावकारी बनाउने लक्ष्य लिएको बताए। नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा दलित समुदायको अर्थपूर्ण प्रतिनिधित्व बढाउनुपर्ने आवाज उठिरहेका बेला कोलीले समावेशी दलिततर्फबाट उम्मेदवारी अघि सारेका हुन्।  गोवर्द्धन कोलीले महाधिवेशन प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तासँग समर्थनका लागि अपिल गर्दै आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउन आग्रह गरेका छन्।