मानव बेचबिखन विधेयक : 'वेश्यावृत्ति' शब्दको विकल्प खोज्न सांसदहरूको सुझाव
काठमाडौँ। मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दको सट्टा उपयुक्त वैकल्पिक शब्द खोजिने भएको छ। प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि भएको दफावार छलफलका क्रममा उक्त शब्दको विकल्प र त्यसले पार्ने कानुनी प्रभावबारे छलफल भएको हो। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले मन्त्रालयले विभिन्न चरणमा छलफल गरे पनि उपयुक्त विकल्पबारे निष्कर्षमा पुग्न नसकेको जानकारी समितिलाई गराइन्। उपयुक्त शब्द सुझाउन समिति सदस्यलाई आग्रह गर्दै उनले उपयुक्त विकल्प प्राप्त भए मन्त्रालय त्यसलाई विधेयकमा समावेश गर्न सकारात्मक रहेको बताइन्। समिति सभापति आकृति अवस्थीले शब्द परिवर्तन गर्दा त्यसले समेट्दै आएको कानुनी अर्थ नहराउने र अपराधमा संलग्न व्यक्ति सजायबाट उम्कन नसक्ने गरी विकल्प खोज्नुपर्ने बताइन्। उनले शारीरिक शोषणको परिभाषाले कुटपिट, अङ्ग बेचबिखन र जबर्जस्ती श्रममा लगाउने कार्यसमेत समेट्न सक्ने उल्लेख गर्दै ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्दा कुनै पनि अर्थ छुट्न नहुनेमा जोड दिइन्। शब्द हटाउनुपर्ने प्रस्ताव मात्रै पर्याप्त नहुने भन्दै सभापति अवस्थीले त्यसको सट्टा कुन शब्द राख्ने, त्यसको कानुनी आधार के हुने र सजाय कार्यान्वयनमा कुनै जटिलता आउँछ कि आउँदैन भन्ने विषयमा स्पष्ट सुझाव दिन समिति सदस्यलाई आग्रह गरिन्। उक्त विषयमा ठोस विकल्पमा सहमति जुट्न नसकेपछि समितिले विधेयकको सम्बन्धित दफामाथिको छलफल अर्को बैठकमा गर्ने भएको छ। समिति सदस्य पार्वती विक, एशुदा कुमारी बराल र ज्ञानु पौडेललगायतले उक्त शब्दको विकल्पबारे संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। विधेयकमाथिको दफावार छलफलका क्रममा संशोधनकर्ता सांसदहरूले ‘वेश्यावृत्ति’ शब्दले विशेषगरी महिलालाई सामाजिक कलङ्क र विभेदको भार बोकाउने भन्दै त्यसको सट्टा वैकल्पिक शब्द प्रयोग गर्नुपर्ने धारणा राख्दै आएका छन्।