SHARE
Samata Press · सोमबार १९ असो २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

काँग्रेस केन्द्रीय सदस्यमा हरिशरण नेपाली, श्रमिक अधिकारदेखि सामाजिक न्यायसम्मको एजेन्डा

काठमाडौँ । नेपाली काँग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा हरिशरण नेपालीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । राजनीतिक, सामाजिक तथा प्राज्ञिक क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टी सङ्गठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षण तथा श्रमिक र उत्पीडित वर्गको अधिकार स्थापित गर्ने अभियानमा उपयोग गर्ने उद्देश्यसहित उनले उम्मेदवारी प्रस्तुत गरेको बताएका छन् । नेपाली काँग्रेसको केन्द्रीय सदस्यका रूपमा काम गरिसकेका नेपालीले श्रमिक तथा ट्रेड युनियन विभागको नेतृत्वमा रहेर श्रमजीवीका मुद्दामा काम गरेको तथा नेपाल दलित सङ्घको राष्ट्रिय नेतृत्वमा रहेर नेपाल ट्रेड युनियन काँग्रेसको नेतृत्वमा समेत भूमिका निर्वाह गरेको बताएका छन् । विशेष गरी अनौपचारिक क्षेत्रका श्रमिकको पेसागत सम्मान, पेसागत हक-अधिकार र सामाजिक सुरक्षाका लागि आफू लामो समयदेखि निरन्तर क्रियाशील रहेको उनको भनाइ छ । काँग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिलाई अपिल जारी गर्दै नेपालीले पार्टीको भावी नीति, कार्यक्रम र कार्यदिशा तय गर्ने तथा आगामी चार वर्षका लागि केन्द्रीय नेतृत्व चयन गर्ने महत्त्वपूर्ण चरणमा महाधिवेशन पुगेको बताएका छन् । उनले महाधिवेशन प्रतिनिधि, नेता तथा शुभेच्छुकलाई पार्टीको भावी नेतृत्व चयनमा गम्भीर, संवेदनशील र चिन्तनशील भएर विवेकपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । नेपालीले आफूले राजनीतिक, सामाजिक तथा प्राज्ञिक क्षेत्रमा हासिल गरेको अनुभवलाई काँग्रेसको सङ्गठनात्मक सुदृढीकरणमा प्रयोग गर्ने बताएका छन् । लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षणसँगै श्रमिक तथा उत्पीडित वर्गको अधिकार स्थापित गर्ने अभियानलाई थप प्रभावकारी बनाउने आफ्नो उद्देश्य रहेको उनले उल्लेख गरेका छन् । उनले आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराए पार्टीको नेतृत्व तहमा रहेर मन, वचन र कर्मले काँग्रेसको सेवा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । नेपालीले गत महाधिवेशनमा जस्तै यस पटक पनि महाधिवेशन प्रतिनिधिको अमूल्य मत, साथ, सहयोग, विश्वास र स्नेह प्राप्त हुने अपेक्षा गरेका छन् । महाधिवेशन प्रतिनिधिको एक–एक मत आफ्नो लागि समर्थन मात्र नभई पार्टी र लोकतान्त्रिक आन्दोलनप्रतिको जिम्मेवारी पूरा गर्ने महत्त्वपूर्ण अवसर हुने उनको भनाइ छ । काँग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनका बन्द सत्रमा पार्टीको भावी नीति, कार्यक्रम र कार्यदिशाका विषयमा महाधिवेशन प्रतिनिधिको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै नेपालीले विवेकपूर्ण नेतृत्व चयन र सुदृढ काँग्रेस निर्माणको अभियानमा आफूलाई समर्थन गर्न आग्रह गरेका छन् । नेपालीले देश-विदेशबाट महाधिवेशनमा सहभागी हुन आएका सम्पूर्ण नेता तथा महाधिवेशन प्रतिनिधिलाई स्वागत तथा शुभकामनासमेत व्यक्त गरेका छन् ।