'सरकारले अर्बौंको राहत थुपारेको छ, बाढीपीडितले पाएका छैनन्'
काठमाडौं । बाढीपीडितको राहत तथा उद्धारमा एकद्वार प्रणाली लागू गरेर अत्यधिक मानवीय क्षति निम्त्याएको सरोकारवालाले आरोप लगाएका छन्। शनिबार राजधानीमा राष्ट्रिय जागरण अभियानले आयोजना गरेको कार्यक्रममा उनीहरूले जनताले दिएको भोटलाई रास्वपा सरकारले भ्रष्टाचार र कुशासनका लागि दुरुपयोग गरेकोसमेत आरोप लगाए। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भोटेकोशी क्षेत्रका बाढीपीडितको राहत तथा उद्धार कार्यमा सरकारी उदासीनता तथा गैरजिम्मेवारीका कारण ठूलो संख्यामा मानवीय क्षति भएको बताए। त्रिपाठीले वर्तमान सरकारले दुई तिहाइको दम्भ प्राकृतिक विपत्तिमा समेत देखाएको आरोप लगाउँदै भने, ‘जनमतको दुरुपयोग कुशासन र भ्रष्टाचारमा मात्रै सीमित रहेन, त्यो बाढीपीडितको राहत तथा उद्धार कार्यमा एकद्वार प्रणालीमार्फत देखापर्यो।’ गणेश नेपालीको आत्मदाह, माइतीघरमा लक्ष्मीदेवीको आत्मदाह प्रयास, सप्तरीमा सडकमै सुत्केरी हुनुपर्ने बाध्यता, सुकुम्बासी बस्तीमा डोजर, बीमा कार्यक्रम बन्दलगायतका घटनाले वर्तमान सरकार उच्च वर्गको सेवक भएको आरोप लगाए।
