पत्रकार सम्मेलन गरेर बाहिरिँदै गर्दा राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार पक्राउ
काठमाडौँ । राष्ट्रिय जागरण अभियान नेपालका संयोजक जनक परियार पत्रकार सम्मेलन सकेर बाहिरिने क्रममा पक्राउ परेका छन् । शनिवार बिहान ११ बजे काठमाडौँको अनामनगरस्थित संवाद डबलीमा अभियानकै आयोजनामा पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलन सकेर बाहिरिने क्रममा प्रहरीले परियारलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखसमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले परियारलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको समता प्रेसलाई जानकारी दिए । उनका अनुसार परियारलाई नियन्त्रणमा लिएर सोधपुछका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । एसएसपी घिमिरेका अनुसार केही दिनअघि परियारले नेपाल प्रहरी, नेपाली सेनालगायतका सुरक्षा निकायले बाढीपीडितका लागि वितरण गर्न लगिएको राहत सामग्रीमा अनियमितता गरेको आशयको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिबारे बुझ्न उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घिमिरेले भने, ‘एक–दुई दिनअघि उहाँले नेपाल प्रहरी र नेपाली सेनालगायतका सुरक्षा निकायले बाढीपीडितलाई बाँड्ने राहत खाएको भनेर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा बोल्नुभएको थियो । कुन सुरक्षा निकायले कहाँ र के–कति खाएको रहेछ भन्ने बुझ्न उहाँले राहत खाएको भनेर आरोप लगाएको विषयमा कहाँ र कहिले त्यस्तो भएको रहेछ भनेर सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।’ शनिवार दिउसो जेनजी स्मृति दिवसका अवसरमा राष्ट्रिय जागरण अभियान नेपालको आयोजनामा संवाद डबलीमा पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनमा सालिक निर्माण विवाद, राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा भइरहेको ढिलाइ, कार्की आयोगको प्रतिवेदन, बाढीपीडितको उद्धारमा सरकारी उदासीनता तथा सडकमा विपन्न महिलाले बच्चा जन्माउनुपर्ने अवस्थालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराइएको थियो ।
