हिंसा प्रभावित तथा जोखिममा रहेका व्यक्तिका लागि रिफरल संयन्त्र आवश्यक : नगर प्रमुख श्रेष्ठ
सन्धिखर्क । सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले हिंसा प्रभावित, सीमान्तकृत तथा जोखिममा रहेका व्यक्तिलाई आवश्यक सेवा एकीकृत रूपमा उपलब्ध गराउन रिफरल सहयोग संयन्त्र स्थापना तथा छलफल कार्यक्रम महत्त्वपूर्ण र संवेदनशील रहेको बताएका छन् । दलित चेतना विकास परिषद् नेपालको आयोजना तथा दलित महिला संघ (फेडो) र युएन वुमनको साझेदारीमा हाम्रो साहस परियोजनाको सहयोगमा सम्पन्न रिफरल सहयोग संयन्त्र स्थापना तथा छलफल कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख श्रेष्ठले हिंसा प्रभावित, सीमान्तकृत वा जोखिममा रहेका व्यक्तिलाई आवश्यक कानुनी, मनोसामाजिक, स्वास्थ्य तथा सुरक्षा सम्बन्धी सेवा एकीकृत रूपमा उपलब्ध गराउन सरोकारवालाबीच बलियो सञ्जाल निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । उनले आफू निर्वाचित भएपछि समाजमा रहेका हानिकारक परम्परामा आधारित मूल्य–मान्यताको न्यूनीकरणका लागि वडास्तरदेखि नै सशक्त संयन्त्र निर्माण गरेर काम गरिरहेको बताए । सामाजिक परम्परामा आधारित हानिकारक मूल्य–मान्यता अन्त्य गर्नु सबैको दायित्व भएको उनको भनाइ थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले समाजमा रहेका विकृति–विसंगति अन्त्य गरी शान्तिपूर्ण समाज निर्माण गर्न न्यायमा पहुँच बढाउनुपर्नेमा जोड दिए । उनले पीडितमैत्री न्याय सम्पादन र कानुनी सहायतालाई प्रभावकारी बनाउन जनप्रतिनिधिदेखि राज्यका सबै निकायले नागरिकको न्यायमा पहुँचमा देखिएका अवरोध हटाउन सहयोग गर्नुपर्ने बताए । प्रहरी नायब उपरीक्षक (डीएसपी) दिवस जीसीले प्रहरीले सीमान्तकृत तथा दलित समुदायसँग सम्बन्धित घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रतिबद्ध रहेको बताए । घटनालाई कानुनी दायरामा ल्याउन सबै पक्ष प्रतिबद्ध र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।
