SHARE
Samata Press · शुक्रबार​ २६ भौ २०८३ १०:४८ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा १३ हजार ६७६ जनाको उद्धार, ५ हजार १३० अझै बेपत्ता

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।  बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै घर, भवन, सडक, पुल, जलविद्युत् आयोजना र अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारले खोज, उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिए ।  उनका अनुसार विपद्पछि अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेपालभित्र र बाहिर उच्च तहबाट समन्वयलाई थप प्रभावकारी बनाइएको छ । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय साझेदारसँग निरन्तर समन्वय गरिरहेको जानकारी दिँदै प्रवक्ता पौडेलले प्रधानमन्त्रीले शुक्रबार बिहान न्युजिल्यान्डका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेको बताए ।