भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
काठमाडौं । भोटेकोशी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी १५ दिनभित्र आवश्यक राय सुझावसहितको प्रतिवेदन मन्त्रीसमक्ष पेश गर्नेछ । समितिका सदस्यहरूमा पूर्वाधार विकास मन्त्रालयका उपसचिव निर्मला गुरुङ, सिडिई शंकर सिंह धामी, सल्लाहकार आरपी महतो, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका तर्फबाट दिलबहादुर श्रेष्ठ, श्री श्रेष्ठ र हरिभक्त श्रेष्ठ तथा यातायात मजदुर संघ संगठनका तर्फबाट धर्मराज भण्डारी, भीम ज्वाला राई र दीपक केसी रहेका छन् । यसैगरी, यातायात क्षेत्रसँग सम्बन्धित नीति, नियम, ऐन, कानुन तथा मापदण्डलाई समयानुकूल परिमार्जन गर्न अर्को समिति गठन गरिएको छ । भविष्यमा आउन सक्ने सम्भावित समस्याको निराकरण तथा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधारका लागि पूर्वाधार विकास मन्त्रालयका सहसचिव जंगबहादुर डाँगीको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यहरूमा सिडिई जीबेन्द्र मिश्र, सिडिई मणिराम भुसाल, इन्जिनियर सागर पन्थी, इन्जिनियर अनुकूल निधि, कानुन अधिकृत जानुका सिवाकोटी तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका तर्फबाट डकेनाथ गौतम, भानुभक्त बराल र पुरुषोत्तम सिम्खडा रहेका छन् । समितिले ४५ दिनभित्र आवश्यक अध्ययन गरी राय सुझावसहितको प्रतिवेदन पेश गर्नुपर्नेछ । मन्त्रालयले दुवै समितिको प्रतिवेदनका आधारमा बाढीबाट प्रभावित यातायात क्षेत्रको क्षति व्यवस्थापन तथा आगामी दिनमा यस्ता विपदबाट उत्पन्न हुन सक्ने समस्या न्यूनीकरणका लागि आवश्यक नीति तथा कानुनी सुधार अघि बढाउनेछ ।
