SHARE
Samata Press · शुक्रबार​ २६ भौ २०८३ ०८:४६ PM · 1 मिनेट पढाइ

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल

जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीबाट प्रभावित पहाडी क्षेत्रका नागरिकका लागि मधेसका जनताले राहत तथा सहयोग पठाएर सराहनीय काम गरेको बताएका छन् । सिरहा र महोत्तरीमा पार्टीका कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किने क्रममा आज साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै संयोजक दाहालले विपद्का बेला मधेस र पहाडबीच देखिएको सहयोग, सद्भाव र एकता प्रशंसनीय रहेको बताए । “अहिले पहाडका जनतालाई मधेसका जनताको साथ र सहयोग चाहिएको छ, त्यसका लागि मधेसका जनताले खुला हृदयले सहयोग गरिरहनुभएको छ”, उनले भने, “पहाडमा पीडा हुँदा मधेसले सहयोग गर्ने र मधेसमा पीडा हुँदा पहाडले सहयोग गर्ने हाम्रो परम्परा सकारात्मक छ ।” उनले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि मधेसबाट पठाइएको राहत तथा सहयोगले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको प्रभाव तीव्ररूपमा देखिन थालेको उल्लेख गर्दै संयोजक दाहालले भोटेकोशीमा आएको बाढीको कारण र त्यसबाट भएको क्षतिको वैज्ञानिक अध्ययन आवश्यक रहेको बताए । उनले जलवायु परिवर्तनकै कारण नेपालमा यस्ता ठूला विपद् बढिरहेको दाबी गरे । “हामीले केही वर्षदेखि जलवायु परिवर्तनको असर कस्तो परिरहेको छ भन्ने विषय उठाउँदै आएका छौँ”, उनले भने, “ठूला मुलुकहरूले अत्यधिक कार्बन उत्सर्जन गरेका कारण नेपालजस्ता साना मुलुकहरूले त्यसको प्रत्यक्ष असर भोगिरहेका छन् । यस विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्छ ।” भोटेकोशी नदीमा बाढी गएपछि सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा सरकारले अपेक्षित गति दिन नसकेको उनले टिप्पणी गरे । बाढी आएको तत्कालीन समयमा अन्तरराष्ट्रिय समुदाय, सम्बन्धित क्षेत्रका विज्ञ तथा उद्धार टोलीको सहयोग लिएर आधुनिक प्रविधिको प्रयोग गर्न सके सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो । “सुरुङभित्र फसेका व्यक्तिको अवस्था पत्ता लगाउन अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरेर तत्काल खोजी तथा उद्धार गर्न सके धेरैको ज्यान जोगाउन सकिने अवस्था थियो”, उनले भने, “तर सरकारले त्यसतर्फ पर्याप्त पहल गर्न सकेन ।” उनले विपद् व्यवस्थापनका लागि सरकारसँग पर्याप्त पूर्वतयारी, दक्ष जनशक्ति, अत्याधुनिक उपकरण र अन्तरराष्ट्रियस्तरको उद्धार क्षमता विकास गर्नुपर्ने आवश्यकता औँल्याए । यसअघि सिरहा र महोत्तरीमा आयोजित पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुनुभएका संयोजक दाहाललाई मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधाम विमानस्थलमा स्वागत गरेका थिए ।