राप्ती प्रादेशिक अस्पतालमा ‘बेड’पाउनै मुस्किल, बिरामीले खेप्दैछन् सास्ती
दाङ। दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले शय्या पाउन निकै सास्ती व्यहोर्नु परिरहेको छ। भाइरलजन्य रोगका बिरामीको सङ्ख्या अत्यधिक बढेका कारण अस्पतालका शय्या पूर्ण रूपमा भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले जानकारी दिए। उनका अनुसार शय्या अभावकै कारण गम्भीर अवस्थाका बिरामीलाई अस्पतालमा राखेर उपचार गर्न समस्या भएको छ। 'शय्या नपाएपछि सिकिस्त बिरामी बाध्य भएर निजी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान वा नेपालगञ्जसम्म जानु परिरहेको छ,' उनले भने, 'बिरामी शय्याका लागि कुर्नुपर्ने अवस्था छ।' प्रादेशिक अस्पताललाई हालसम्म ५० शय्याको मात्रै स्वीकृति प्राप्त छ। यद्यपि, अस्पताल प्रशासनले आमा सुरक्षा कार्यक्रम, सङ्घीय ससर्त कार्यक्रम र साबिकको कोभिड कार्यक्रमको जनशक्ति परिचालन गरी आफ्नै स्रोतसाधनबाट हाल १४१ शय्या सञ्चालन गरिरहेको छ। बिरामीको चाप भने अत्यधिक छ। सामान्य दिनमा पनि दैनिक ५०० भन्दा बढी र सरकारी बिदापछिका दिनमा ओपिडीमा आउने बिरामीको सङ्ख्या ७०० सम्म पुग्ने गरेको डा होदाले बताए। विशेषगरी बाल वार्ड, मेडिसिन वार्ड र प्रसूति वार्डमा शय्याको अभाव छ। बाल वार्डमा ११ वटा शय्या रहेकामा चाप बढेपछि १३ वटा पुर्याइएको छ। शय्या उपलब्ध गराइदिन भन्दै दैनिक दर्जनौँ फोन आउने र बिरामीको चाप धान्न नसकिने अवस्था रहेको डा होदाले बताए। अस्पतालमा विशेषज्ञ चिकित्सकबाट सहज एवं सुलभ सेवा पाउन थालेपछि अस्पतालप्रति नागरिकको विश्वास बढेको छ। सोही कारण बिरामीको चाप अत्यधिक वृद्धि भइरहेको उनले बताए। शय्याको अभावमा उपचारमा समस्या हुने गरेको भन्दै अस्पताल विकास समितिले सरकारीस्तरबाटै ओएनएम सर्भे गराई स्थायी दरबन्दी सिर्जना गरेर अस्पताललाई कम्तीमा २०० शय्यामा स्तरोन्नति गर्नुपर्ने माग राख्दै आएको छ।
