SHARE
Samata Press · मङगलबार २३ भौ २०८३ ०६:५४ PM · 1 मिनेट पढाइ

विपद्‌मा खटिएका प्रहरीको मनोबल कमजोर पार्ने गरी भ्रामक प्रचार नगर्न प्रहरीको अपिल

काठमाडौं । नेपाल प्रहरीले विपद्‌को बेला नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र मानवीय सेवामा खटिरहेका राष्ट्रसेवक सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने गरी भ्रामक र अपुष्ट सूचनाहरू प्रचार प्रसार नगर्न आग्रह गरेको छ। मंगलबार केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले विज्ञप्तिमार्फत् प्रहरी लगायत सुरक्षाकर्मीले राहतका सामाग्री संकलन गरेर राखेको र वितरण नगरेको जस्ता भ्रामक सूचनाहरू फैलाइएको पाइएको भन्दै नागरिकमा भ्रम सिर्जना गर्ने किसिमका अफवाह र अपुष्ट सूचना प्रचार–प्रसार नगर्न अपिल गरेका हुन्। उनले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिपछि नेपाल प्रहरी लगायत सबै सुरक्षाकर्मीहरू निरन्तर खोज, उद्धार, राहत तथा पुनःस्थापनाका काममा जुटिरहेको बताएका छन्। 'सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलाई लक्षित गरी आर्मी–पुलिसले राहत सामग्री आफैँले लिएको, वितरण नगरेको र सडिगली गएको भन्ने आशयका भ्रमपूर्ण तथा तथ्यहीन अफवाह फैलाइएको विषयमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ,' प्रवक्ता काफ्लेले भनेका छन्, 'प्रहरीसँग कुनै पनि राहत सामग्री भण्डारण छैन। विपद्को समयमा उद्धार तथा राहत कार्यमा खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीको मनोबलमा प्रतिकूल असर पर्ने, आम नागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना हुने तथा विपद् व्यवस्थापनसम्बन्धी संवेदनशील कार्यलाई समेत प्रभावित पार्ने गरी कपोलकल्पित आरोप तथा अफवाह फैलाउनु दुःखद् र गैरजिम्मेवार विषय हो।