भोटेकोशी बाढी : वीरबहादुरको फोनले बचाएको थियो करिब ३० परिवारको ज्यान
नुवाकोट । माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पुगे। एक्कासि ठूलो आवाज कानमा ठोक्कियो। बाहिर आएर स्याँफ्रुबेँसीतर्फ हेर्दा उनको होसहवास उड्यो। उनले जीवनमा कहिल्यै नदेखेको दृश्य देखे। भोटेकोशीको बाढी आकाशै छुन लागेको जस्तो वीरबहादुरलाई आभास भयो। बाढीको गड्गडाहटले रसुवा सदरमुकाम धुञ्चेलाई थर्कमान बनाएको थियो। “भोटेकोशीमा बाढी यति धेरै आएको थियो कि पाँच–दस मिनेट मैले केही सोच्नै सकिनँ”, वीरबहादुरले भने, “एकछिनपछि त झल्याँस्स सम्झिएँ, लौ मेरो जहान–बच्चाहरूलाई बग्नबाट कसरी जोगाउने।” उनले त्रिशूली नदीको बगरमा बसाइएको नुवाकोटको विदुर नगरपालिका–१० भैँसे बजार सम्झिए। अनि भैँसेस्थित घरमा रहेकी श्रीमती गङ्गालाई फोन गरे। “श्रीमतीको फोन मरिगए पनि उठ्दैन”, उनले सम्झिँदै भने। वीरबहादुरलाई दिमागले काम गर्न छोडेजस्तो भयो। उनले तारन्तार फोन गरिरहे। श्रीमतीको फोन नउठेपछि उनले नौ कक्षामा पढ्दै गरेकी छोरी एविकालाई सम्झिए। उत्तरगया बोर्डिङ स्कुलमा पढ्ने एविका त्यतिबेला विद्यालय जाँदै थिइन्। बुबाको फोन आएपछि उनी बाटोबाटै पाखोतर्फ भागिन्। “छोरीले एक कलमै फोन उठाइन् अनि मैले धुञ्चेबाट देखिरहेको र सुनिरहेको दृश्यबारे उनलाई बताएँ”, वीरबहादुरले भने, “एकछिनपछि त श्रीमती र दाजु (रमेश) ले पनि फोन उठाए।” उनकी श्रीमती गङ्गा तामाङ गुरुङ त्यतिबेला खेतमा थिइन्। उनी घर पुग्दासम्म रमेशले ७१ वर्षीया सासु साइली र दुई वर्षको छोरालाई घरमाथिको पाखोमा पुर्याइसकेका थिए। वीरबहादुरको आफ्नै माइक्रोबस छ। उनी आफैँले उक्त माइक्रोबस बेत्रावतीबाट काठमाडौंको मार्गमा चलाउँछन्। बाढी आएको दिन भने धार्मिकस्थल गोसाइँकुण्ड जाने १० यात्रु लिएर बिहानै धुञ्चे उक्लिएका थिए। उनका अनुसार यात्रु सबै धादिङका थिए। उनीहरूले वीरबहादुरको माइक्रोबस भाडामा लिएर गोसाइँकुण्ड गएका थिए। “भाग्य बलियो रहेछ, त्यही भएर बाँचेँ”, वीरबहादुरले भने। अरू बेला भएको भए बिहानको समय काठमाडौंका लागि यात्रु खोज्नमै बेत्रावती र भैँसे वरपर बित्थ्यो। त्यस दिन गोसाइँकुण्ड जाने दर्शनार्थीका कारण वीरबहादुर बाढीको चपेटामा परेनन्। “अरू दिन हुन्थ्यो भने म मात्र होइन, परिवार नै बाढीमा बग्थ्यो”, उनले भने, “धुन्चेमा भएर बेलैमा भोटेकोशीको बाढीबारे थाहा पाएँ। मेरो एक कल फोनले परिवार र छरछिमेक मात्र होइन, टोलकै बासिन्दालाई बचाउन सकेँ।” मानिस सुरक्षित भए पनि टोलका कुनै घर बाँकी नरहेको उनले बताए। सबै भोटेकोशीको बाढीमा विलय भएका छन्। पाँच जनाको परिवार बाढीबाट जोगिएकामा वीरबहादुर खुसी छन्।
