म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले म्याग्दी नदी बेसिनमा निर्माणाधिन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रिय प्रणालीमा आवद्ध बनाउन सवस्टेशन बनाएको हो । एकाउन्न रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान भइसकेको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए । “डाडाखेत सवस्टेशनको भौतिक पूर्वाधार निर्माण र जडान भएका उपकरणको परीक्षण भएको छ,” उनले भने, “डाडाखेतदेखि राहुघाट जोड्ने २५ किलोमिटर प्रशारण लाइन र राहुघाट सवबस्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ ।” डाडाखेतमा विसं २०७५ देखि सवस्टेशनका लागि जग्गा व्यवस्थापन, घेराबार र आवास भवन निर्माण थालिएको थियो । प्रशारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माणका लागि सन् २०२१ को डिसेम्वर ३१ मा रु तीन अर्ब ५७ करोडमा लार्सन एण्ड टुयुब्रो (एलएनटी) लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । पहिलो पटकको म्याद सन् २०२५ जुलाई १६ र दोस्रो पटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ अगस्ट १६ गते सम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो । ठेकेदार कम्पनी एलएनटीका आयोजना ब्यवस्थापक शुभासचन्द्र शर्माले आगामी डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य सहित काम भइरहेको बताए । उनका अनुसार प्रशारण लाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रुख कटान आदेश प्राप्त हुन भएको ढिलाइ, राहुघाट सवस्टेशन निर्माणस्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले निर्माण अवधी लम्बीएको हो । एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको हालसम्म ८२ वटामध्य ८० वटाको जग निर्माण र ७२ वटा टावर खडा भएका छन् । करिब १५ किलोमिटर प्रशारण लाइनको तार तान्ने काम सकिएको छ । २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । कुल रु चार अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि रु एक अर्ब पाँच करोड विद्युत् प्राधिकरण र रु तीन अर्ब ८२ करोड एशियाली विकास बैङ्कको ऋण लगानी छ । एशियाली विकास बैङ्कसँग भएको २७ मिलियन डलर ऋण सम्झौता पछिल्लो पटक बढाएर ३१ मिलियन डलर बनाइएको छ । एशियाली विकास बैङ्कले विद्युत् प्रशारण लाइन आधुनिकीकरण परियोजनामार्फत राहुघाट–डाडाखेत प्रशारण लाइन बनाउन ऋण लगानी गरेको हो ।
