अमेरिकी दूतको भ्रमण सकिएसँगै युक्रेनमा फेरि सुरु भयो रुसी हमला
किभ । रुस र युक्रेनका राजधानीमा तीन दिनदेखि रोकिएको हवाई हमला फेरि सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतहरू स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुशनरले मस्को र किभको भ्रमण गरेर शान्ति वार्ताको प्रयास गरे पनि ठोस प्रगति नभएपछि हमला पुनः सुरु भएको हो । मंगलबार बिहान रुसले युक्रेनको राजधानी किभमा ड्रोनसहित हवाई हमला गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् । हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको र सात जना घाइते भएको बताइएको छ । किभका अधिकारीहरूका अनुसार रुसी हवाई हमलाबाट राजधानीका दुई आवासीय भवनमा क्षति पुगेको छ ।
