दलित जेनजी अलाएन्सद्वारा बाढीपीडित ३१ दलित-भूमिहीन परिवारलाई राहत वितरण
काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका दलित भूमिहीन परिवारलाई दलित जेनजी अलाएन्सले राहत वितरण गरेको छ। जिल्ला भूमि अधिकार मञ्च रसुवामार्फत् जेनजी अलाएन्सले सोमबार राहत वितरण गरेको हो। संमृद्धि ग्लोबल फाउण्डेसन, जनउत्थान सामुदायिक लघुवित्त, रैथाने शिल्पकला तथा सम्पादा प्रतिष्ठान र स्वतन्त्र दलित नागरिक समाजसहित अलाएन्सको संयोजनमा संकलित खाद्यान्न लगायतका सामाग्री सोमबार वितरण गरिएको दलित जेनजी अलाएन्सका संयोजक जीवन तिरुवाले जानकारी दिए। अलाएन्सले रसुवाको कालिका गाउँपालिकामा रहेका बाढी प्रभावित दलित, भूमिहीन परिवारलाई चामल, दाल, लत्ताकपडा, भाँडाकुँडा, झोला, कम्बल, कापीकिताब, चाउचाउ, चिउरा, बिष्कुट, पानी लगायत सामाग्रीहरू वितरण गरेको हो। बाढी प्रभावित ३१ परिवारलाई राहत सामाग्रीहरू उपलब्ध गराइएको अलाएन्सका संयोजक तिरुवाले जानकारी दिए।
