SHARE
Samata Press · सोमबार २२ भौ २०८३ ०७:३१ PM · 1 मिनेट पढाइ

मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सरकार, सरोकार भएका निकाय तथा सबै नागरिकको प्रयासले देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्याक्त गरेका छन् ।  आज सप्तरङ्गी इन्द्रेणी बौद्ध समाजले बाढीपीडितका लागि उपलब्ध गराएको आर्थिक सहयोग लिँदै उनले आपसी सहकार्य, समन्वय र हातेमालोले सङ्कट सामना गर्न सहयोग पुग्ने बताए । मन्त्री श्रेष्ठले देश सङ्कटमा परेका बेला सहयोगका लागि हातेमालो गरेकामा धन्यवाद पनि दिए । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर प्रभावित भएका नागरिकहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि सप्तरङ्गी इन्द्रेणी बौद्ध समाज स्वयम्भूले आर्थिक सहयोग गरेको छ ।  समाजका पदाधिकारीले आज प्रधानमन्त्री राहत कोषमा रु दुई लाख एक हजार १०१ आर्थिक सहयोग गरेका हुन् । समाजका अध्यक्ष मनिक लामाले ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए । उक्त अवसरमा बौद्ध लामाहरुले अहिलेको महाविपत्तिपछि सिर्जित सङ्कटबाट देशलाई पार लगाउन मन्त्रोच्चारणसहित आशीर्वाद दिएका थिए ।