खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ
काठमाडौँ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाउन निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गरेको छ। गत आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले कटान गरेर पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि कर्पोरेशनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीका प्लान्टमा आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भरेर (बोटलिङ) काठमाडौँ ल्याउने नीति लिएको हो। राजमार्ग अवरुद्ध हुँदा कर्पोरेशनको धादिङ जुगेखोलास्थित ‘एलपीजी प्लान्ट’मा समेत असर परेको छ। आफ्नो प्लान्टमा ग्यासका बुलेट आउन सम्भव नभएपछि कर्पोरेशनले निजी क्षेत्रका सहज स्थानमा रहेका मनोज र बाबा ग्यासका प्लान्टसँग सहकार्य गरी आफ्ना खाली सिलिन्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यका भित्र्याउने प्रबन्ध मिलाएको हो। विषम प्राकृतिक विपद्को अवस्थालाई ध्यानमा राख्दै उपभोक्तालाई ग्यासको अभाव हुन नदिन यो नीति अवलम्बन गरिएको कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाले जानकारी दिए। “पहिलो चरणमा शुक्रबारसम्म ती दुई निजी प्लान्टमा भरिएका आफ्ना ग्यासका सिलिन्डर काठमाडौँ आइपुग्ने छन्”, उनले भने। कर्पोरेशनले आफ्नो ग्यास प्लान्टका लागि छुटेका केही ग्यासका बुलेट ती निजी कम्पनीमा ‘डाइभर्ट’ समेत गरेको छ। सीमित कोटा, चुस्त वितरण प्रणाली नेपाल आयल निगमले कर्पोरेशनलाई न्यून कोटा अर्थात् ‘पीडीओ’ अनुमति प्रदान गर्दा उसले चाहेर पनि यथेष्ट ग्यास बिक्री गर्न पाइरहेको छैन। निगमले भारतीय आयल कर्पोरेशनबाट कुल तीन हजार २५ ग्यास बुलेटका लागि सम्झौता गरेको जनाइएको छ। त्यसमध्ये करिब दुई प्रतिशत अर्थात् ५३ वटा बुलेट मात्र कर्पोरेशनको भागमा परेको छ। कर्पोरेशनले हाल मासिक ५५ हजारदेखि ६० हजारको हाराहारीमा ‘एसटिसी सिलिन्डर’ खपत गरिरहेको जनाएको छ। निजी क्षेत्रका ग्यास कम्पनीले खाडी सङ्कट, पछिल्लो समय पृथ्वीराजमार्ग अवरुद्ध हुनु तथा अन्य बहाना देखाउँदा उपभोक्ता समस्यामा पर्दै आएका छन्। कर्पोरेशनले हाल कुपन प्रणालीमार्फत बिक्री वितरणलाई सहज बनाइरहेको छ। सहायक प्रमुख कार्यकारी अधिकृत झाले उपभोक्तालाई कुपन वितरण गर्दा नै ग्यास प्राप्त गर्ने दिन सुनिश्चित गर्ने गरिएको बताए। छ महिनालाई पुग्ने आयोडिनयुक्त नुन ‘स्टक’ सरकारको आयोडिनयुक्त नुनको सर्वसुलभ पहुँच आमनागरिकसम्म पु¥याउने नीति कार्यान्वयन गर्दै कर्पोरेशनले छ महिनालाई पुग्ने नुनको मौज्दात राखेको छ। भदौ १७ गते बुधबार कर्पोरेशनका भण्डारमा एक लाख २७ हजार ३६१ मेट्रिक टन नुन ‘स्टक’ रहेको सहायक प्रमुख कार्यकारी अधिकृत झाले जानकारी दिए। उनका अनुसार देशभर वार्षिक दुई लाख टनभन्दा बढी आयोडिनयुक्त नुनको माग हुँदै आएको छ। कर्पोरेशनले गत आवमा करिब दुई लाख १० हजार टन नुन बिक्री वितरण गरेको थियो। ‘आयोडिन’ शरीरलाई दैनिक रूपमा आवश्यक पर्ने अतिसूक्ष्म पोषक तत्त्व हो। सरकारले दुई बालबालिकाको चित्र भएको नुन ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्दै प्रयोगका लागि आग्रह गर्दै आएको छ। उपभोक्तावादीले नुन अत्यावश्यक वस्तु भएकाले सरकारको नीतिभित्रै राख्नुपर्ने र यसको बिक्री वितरणमा निजी क्षेत्रलाई प्रवेश गराउन नहुने आवाज उठाउँदै आएका छन्। उनीहरूको तर्कमा विषम अवस्थामा निजी क्षेत्रले नुनको सहज आपूर्ति मिलाउन नसक्ने भएकाले विपद्लगायत असहज अवस्थामा सार्वजनिक संस्थाको भूमिका महत्वपूर्ण हुन्छ। चिनीमा बजार हस्तक्षेप अर्कोतर्फ, कर्पोरेशनले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागिरहेको चिनीको बिक्री वितरणलाई चुस्त बनाउँदै बजार हस्तक्षेप गरेको छ। निजी क्षेत्रबाट प्रतिकिलो रु १३५ सम्म बिक्री भइरहेको चिनी कर्पोरेशनले रु १०० मा बिक्री वितरण गरिरहेको छ। कर्पोरेशनका अनुसार भदौ ९ गते मात्र संस्थाले ६०० टन चिनी भित्र्याएको थियो। संस्थाले सरकारको नीतिअनुसार चिनी बिक्री गर्दै आएको छ। पछिल्ला दिनमा कर्पोरेशनले तीन हजार टन चिनी बजारमा पठाइसकेको छ। दैनिक उपभोग्य वस्तु चामल, दाल, गेडागुडी, तेललगायत वस्तुको मूल्य निरन्तर उकालो लागिरहेको भए पनि कर्पोरेशनले आफूले बिक्री वितरण गर्दै आएका खाद्यान्नको मूल्य स्थिर राख्न सफल भएको जनाएको छ। सहायक प्रमुख कार्यकारी अधिकृत झाले सरकारी–निजी स्वामित्वको कर्पोरेशनको ध्येय दैनिक अत्यावश्यक उपभोग्य वस्तु, नुनलगायत अन्य खाद्यान्न वस्तु असहज अवस्थामा पनि निरन्तर उपलब्ध गराउनु रहेको बताए। “कर्पोरेशनको ध्येय नाफामा मात्र होइन, असहज अवस्थामा पनि उपभोक्तालाई अत्यावश्यक वस्तुको सेवा पु¥याउनु हो”, उनले भने। विपद्का अवस्थामा सार्वजनिक संस्थाको भूमिका र अपरिहार्यता अझ बढ्ने देखिन्छ।
