SHARE
Samata Press · आइबार​ १४ भौ २०८३ ०१:४४ PM · 1 मिनेट पढाइ

गृहमन्त्रीनिकट संस्थालाई मात्रै राहत वितरण गर्न दिएको भन्दै आङ्देम्बेले उठाए प्रश्न

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकका लागि संकलित राहत सामग्री वितरणमा गृहमन्त्री सुधन गुरुङनिकट संस्थालाई मात्र प्राथमिकता दिएको भन्दै आपत्ति जनाएका छन् ।  गृहमन्त्री गुरुङको संस्था ‘हामी नेपाल’ हो । यो संस्थालाई मात्रै राहत वितरणको अवसर दिएको भन्दै नेता आङ्देम्बेले शनिबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ताको क्रममा त्यसो गर्नु ठीक नभएको भनेको बताए । ‘जति पनि राहतको सामग्री छ, त्यो राहत सामग्री सरकारले चिनेको वा सरकारमा बसेका कोही सदस्यको नजिकको संस्था (हामी नेपाल)ले मात्रै पाएको गुनासो छ, आङ्देम्बेले बैठकमा भने, ‘यदि त्यस्तो हो भने राहत पुग्नुपर्ने ठाउँमा छिटो नपुगेर भोलि मान्छे मरिसकेपछि राहत पुग्नुको कुनै अर्थ हुँदैन । स्थानीय निकाय, जिल्ला प्रशासन र राज्यले चिनेका संघसंस्थाहरूलाई राहत बाँड्न दिनुपर्छ ।’ उनले रसुवामा राहत सामग्री नपुगेको गुनासो आएको पनि बताए । नुवाकोटको विदुरमा राहत थुप्रिँदा भीषण बाढीबाट सर्वाधिक प्रभावित रसुवामा राहत नपुग्नु ठिक नभएको उनको भनाइ छ । आङ्देम्बेले कांग्रेस पनि विपद्को समयमा राजनीतिक प्रचारभन्दा विशुद्ध मानवीय सेवामा केन्द्रित हुनुपर्ने बताए । नेपाल तरुण दललगायत पार्टीका भ्रातृ संस्थालाई समेत पार्टीको झण्डा बोकेर राहत वितरण नगर्न निर्देशन दिइएको उनले जानकारी दिए । उनले प्रधानमन्त्री बालेनसँग भोटेकोशी र त्रिशूलीमा बाढीमा पुल गएको भन्दै तत्कालका लागि तुइनको व्यवस्था गर्न आग्रह गरिएको पनि बताए । यस्तै, उनले अन्तराएष्ट्रिय उद्धार टोलीहरूलाई उद्धार गर्न तत्काल अनुमति दिइयोस् भनेर प्रधानमन्त्री बालेनसँग माग गरिएको पनि बताए । उनले भने, ‘नेपालको उद्धार टोलीबाट मात्रै सम्भव हुँदैन । सबैलाई त्यहाँसम्म जाने वातावरण बनाउनुपर्छ भनेको छु ।