SHARE
Samata Press · आइबार​ १४ भौ २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

बाढीपीडितको तत्काल उद्धार, राहत र पुनःस्थापना गर्न स्याफले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौँ। गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति सूर्यमती युवा जागरण प्रतिष्ठान (स्याफ) ले दुःख व्यक्त गर्दै तत्काल उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि सरकारसँग आग्रह गरेको छ । प्रतिष्ठानका अध्यक्ष अधिवक्ता देविका मिजारले विज्ञप्ति जारी गर्दै बाढीबाट सयौँ नागरिकको जीवन तहसनहस भएको, दर्जनौँ पक्की तथा झोलुङ्गे पुल, पचासौँ किलोमिटर सडक तथा सडक सञ्जालमा क्षति पुगेकोले त्यसक्षेत्रका नागरिकको दैनिकी अवरुद्ध भएको बताएकी छन्। त्यस्तै, प्रतिष्ठानले नेपाल सरकार, अन्तर्राष्ट्रिय दातृ तथा विकास साझेदार निकाय, संघसंस्था र समाजसेवीलाई तत्काल उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका कार्यमा आ–आफ्नो क्षेत्रबाट सक्रिय हुन अपिल गरेको छ । विशेषगरी नुवाकोटको त्रिशूली नदीपारि सडक सञ्जाल तथा सम्पर्क विच्छेद भएका विदुर नगरपालिका–७, ८, ९, १२ र १३ तथा तारकेश्वर, किस्पाङ र म्यागङ गाउँपालिकाका बासिन्दालाई तत्काल मानवीय सहायता तथा राहत सामग्री उपलब्ध गराउन प्रतिष्ठानले आग्रह गरेको छ । साथै सबै पक्षसँग हातेमालो गर्दै राहत तथा पुनःस्थापनाको काममा अघि बढ्न सरकारलाई अपिल गरिएको छ । प्रतिष्ठानले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । सम्पर्कविहीन व्यक्तिहरूको सकुशल उद्धारका लागि यथाशक्य पहल गर्न नेपाल सरकारसँग आग्रह गरिएको छ । बाढीले टिमुरे, स्याफ्रुबेँसी, शान्तिबजार, उत्तरगया तथा बेत्रावती, भैँसे, त्रिशूली बजार, ढुङ्गे बजार र देवीघाट बजारलगायत नदी किनारका मानव बस्ती तथा सम्पदामा अपूरणीय क्षति पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ।