SHARE
Samata Press · शनिबार १३ भौ २०८३ ०७:५३ PM · 1 मिनेट पढाइ

पीडामा पनि संस्कृति र सभ्यताको जगेर्ना गर्दै नेवार समुदाय

अर्घाखाँची। नेवार समुदायको मौलिक तथा ऐतिहासिक पर्व गाईजात्रा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुङ्गाको हटियामा परम्परागत रूपमा मनाइएको छ। परिवारमा वर्षभरिमा दिवंगत भएका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने परम्परालाई निरन्तरता दिँदै स्थानीय नेवार समुदायले विभिन्न सांस्कृतिक झाँकीसहित गाईजात्रा निकालेका हुन्। नेवार समुदायमा गाईजात्रा मनोरञ्जनका लागि मात्र मनाइने पर्व नभई दिवंगत आफन्तको सम्झना गर्ने, दुःख व्यक्त गर्ने तथा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृतिको संरक्षण गर्ने अवसरका रूपमा लिइन्छ। यही परम्पराअनुसार केरुङ्गाको हटियामा पनि दिवंगत आफन्तको सम्झनामा गाईजात्रा निकालिएको हो। गाईजात्राका क्रममा परिवार तथा आफन्तजन सहभागी भएका थिए। परम्परागत पहिरन, बाजागाजा र सांस्कृतिक गतिविधिसहित निकालिएको गाईजात्राले स्थानीय नेवार समुदायको मौलिक संस्कृति र पहिचानलाई उजागर गरेको थियो। गाईजात्रामा स्थानीय नेवार समुदायका अगुवा तथा ज्येष्ठ सदस्यहरूको सहभागिता थियो। गाईजात्राको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे स्थानीय नेवार समुदायका अग्रज कृष्ण श्रेष्ठले जानकारी दिए। उनले परिवारमा कसैको निधन भएपछि दिवंगत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने परम्परा पुस्तौँदेखि चलिआएको बताए। उनका अनुसार गाईजात्रा दुःखलाई सामूहिक रूपमा स्वीकार गर्दै दिवंगत आफन्तको सम्झना गर्ने महत्वपूर्ण सांस्कृतिक अवसर हो। यसले परिवारमा परेको दुःखलाई समुदायसँग जोड्नुका साथै मृतकको सम्झनालाई सम्मान गर्ने काम गर्दछ। बदलिँदो समयसँगै जीवनशैलीमा परिवर्तन आए पनि मौलिक परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई यसको महत्व बुझाउन आवश्यक रहेको उनले बताए। स्थानीय नेवारी समुदायका कृष्णप्रसाद श्रेष्ठले पनि आफ्नो मौलिक परम्परा, संस्कार र संस्कृति जोगाउन गाईजात्रा मनाइएको बताए। पछिल्लो समय नयाँ पुस्तामा मौलिक संस्कृति र परम्प्राप्रतिको चासो घट्दै गएको अवस्थामा यस्ता पर्वले समुदायको पहिचान र संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। उनका अनुसार गाईजात्रा नेवार समुदायको पहिचानसँग जोडिएको पर्व भएकाले यसको संरक्षण सबैको साझा दायित्व हो। परम्परालाई एक पुस्ताले मात्र धान्ने नभई नयाँ पुस्तालाई पनि सहभागी गराएर यसको महत्व बुझाउन सके संस्कृतिले निरन्तरता पाउने उनले बताए। स्थानीय दिपक श्रेष्ठलगायतले पनि गाईजात्रा नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व भएकाले आफ्नो परम्परा र संस्कृतिको संरक्षणका लागि यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। स्थानीयस्तरमा मनाइने यस्ता सांस्कृतिक पर्वले समुदायबीचको आपसी सम्बन्धलाई समेत बलियो बनाउने उनीहरूको भनाइ थियो। गाईजात्राका अवसरमा दिवंगत आफन्तको सम्झनामा परिवारका सदस्य सहभागी हुँदा वातावरण भावुक बनेको थियो। आफन्त गुमाउनुको पीडा र पुस्तौँदेखि चलिआएको सांस्कृतिक परम्परा धान्नुपर्ने जिम्मेवारीका बीच गाईजात्रा निकालिएको स्थानीयले बताए। नेपालका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आ–आफ्नो स्थानीय परम्परा र संस्कृतिअनुसार गाईजात्रा मनाउने गरेका छन्। विशेषगरी वर्षभरिमा मृत्यु भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने परम्पराले दिवंगत व्यक्तिको सम्झनालाई जीवित राख्नुका साथै दुःखमा रहेका परिवारलाई समुदायको साथ र सहानुभूति प्रदान गर्ने सामाजिक भूमिका निर्वाह गर्दै आएको छ। केरुङ्गाको हटियामा निकालिएको गाईजात्राले स्थानीय नेवार समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई झल्काएको छ। आधुनिकताको प्रभाव बढ्दै गए पनि पुर्खाले धान्दै आएको संस्कारलाई निरन्तरता दिँदै स्थानीय समुदायले गाईजात्रा मनाएर मौलिक संस्कृति संरक्षणको सन्देश दिएको छ। स्थानीय बासिन्दाका अनुसार यस्ता पर्वलाई निरन्तरता दिन सके केरुङ्गाको मौलिक सांस्कृतिक पहिचान संरक्षण हुनुका साथै नयाँ पुस्ताले आफ्ना पुर्खाको संस्कृति र परम्पराबारे जान्ने अवसर पाउनेछन्। त्यसैले गाईजात्रालाई पर्वका रूपमा मात्र नभई इतिहास, संस्कार, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण परम्पराका रूपमा लिनुपर्ने उनीहरूको भनाइ छ।