SHARE
Samata Press · शुक्रबार​ १२ भौ २०८३ ०८:१२ PM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि चौधरी ग्रुपद्वारा ५०० अस्थायी आवास बनाउने घोषणा, १५ करोड बराबरको राहत सहयोग

काठमाडौं । नेपाली अर्बपति बिनोद चौधरीको चौधरी ग्रुपले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १५ करोड रुपैयाँभन्दा बढीको सहयोग घोषणा गरेको छ। चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले बाढीपीडितका लागि तत्काल खाद्यान्न र औषधि उपलब्ध गराउने, राहत शिविर सञ्चालन गर्ने तथा पहिलो चरणमा ५०० वटा अस्थायी आवास निर्माण गर्ने घोषणा गरेका हुन्। विनाशकारी बाढीबाट घरबार गुमाएका तथा संकटमा परेका परिवारलाई तत्काल राहतसँगै सुरक्षित बासको व्यवस्था गर्न सहयोग केन्द्रित गरिने जनाइएको छ। प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सामग्री वितरण तथा राहत शिविर निर्माणको कामसमेत अघि बढाइनेछ। बाढीले ठूलो संख्यामा नागरिकलाई विस्थापित गरेपछि तत्काल उद्धार र राहतसँगै उनीहरूको पुनर्वास चुनौतीपूर्ण बनेको छ। यही अवस्थालाई ध्यानमा राख्दै चौधरी फाउन्डेसनले पहिलो चरणमै ५०० वटा संक्रमणकालीन घर बनाउने योजना अघि सारेको हो। स्थायी पुनर्निर्माण पूरा हुन समय लाग्ने भएकाले संक्रमणकालीन आवासले घरविहीन परिवारलाई तत्काल सुरक्षित आश्रय उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। घोषित १५ करोड रुपैयाँभन्दा बढीको सहयोग खाद्यान्न तथा चिकित्सा राहत, राहत शिविर निर्माण र अस्थायी आवासलगायतका काममा परिचालन गरिने बताइएको छ। चौधरी समूहको सहयोगले तत्काल मानवीय राहतदेखि दीर्घकालीन पुनर्स्थापनासम्मका कामलाई समेट्नेछ।