बाढीपीडितको खोजी, उद्धार, राहत र पुनःस्थापनामा जुट्नुहोस् : एमाले सचिव विश्वकर्मा
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले रसुवामा भएको बाढीबाट प्रभावितको खोजी, उद्धार, राहत र पुनःस्थापनामा सिंगो नेपाल एक भएर जुट्नुपर्ने बताएका छन्। बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको भन्दै नेता विश्वकर्माले उद्धार र राहतमा जुट्न आग्रह गरेका छन्। सचिव विश्वकर्मा र एमालेकै लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनालले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै विपद्को घडीमा हरेक आग्रहभन्दा माथि उठेर सरकारको योजना र कामलाई साथ दिनु आवश्यक रहेको बताएका छन्। त्यस्तै, सबै राजनीतिक दल, जनप्रतिनिधिमूलक निकाय, संघसंस्था तथा आम नागरिक समाजलाई विपद् प्रभावितको खोजी, उद्धार, राहत र पुनःस्थापनाका लागि साथ दिन तथा सहयोगी हात बढाउन उनीहरूको आग्रह छ। उनीहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई केन्द्रीय विपद् राहत कोषमा यथासक्य छिटो रकम उपलब्ध गराउन आग्रह गरेका छन् भने बाढीमा जीवन गुमाएका लुम्बिनी प्रदेशका नागरिकका लागि राहतको व्यवस्था गर्न र खोजी कार्यमा विशेष पहल लिन प्रदेशको सिंगो संयन्त्र परिचालन गर्न अनुरोध गरेका छन्।
