SHARE
Samata Press · शुक्रबार​ १२ भौ २०८३ ०७:०७ PM · 1 मिनेट पढाइ

विद्यार्थी पुनरुत्थान अभियान : बाढी प्रभावित १०० विद्यार्थीलाई पढाउने नेविसंघको घोषणा

काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले हालैको बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लाका परिवार गुमाएका १०० जना विद्यार्थीको कक्षा १२ सम्मको सम्पूर्ण पठनपाठनको जिम्मेवारी लिने भएको छ। नेविसंघकी अध्यक्ष करुणा कटुवालले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रका विद्यार्थीहरूको शैक्षिक जीवनको पुनरुत्थानका लागि ‘विद्यार्थी पुनरुत्थान अभियान’ सञ्चालन गर्ने घोषणा गरेकी हुन्। अभियानअन्तर्गत पहिलो चरणमा बाढीमा परेर परिवार गुमाएका चार जिल्लाका १०० जना विद्यार्थीको विद्यालय शुल्कसहित कक्षा १२ सम्मको सम्पूर्ण पठनपाठन तथा आवश्यक शैक्षिक व्यवस्थापनको जिम्मेवारी नेविसंघले लिने जनाएको छ। बाढी तथा पहिरोका कारण विद्यालय तथा शैक्षिक भौतिक संरचनामा क्षति पुगेको र हजारौँ बालबालिकाको पठनपाठन प्रभावित भएकाले उनीहरूलाई पुनः पठनपाठनको वातावरणमा फर्काउन अभियान सञ्चालन गर्न लागिएको नेविसंघले जनाएको छ। अभियानमार्फत प्रभावित क्षेत्रका अन्य विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन कापी, किताब तथा आवश्यक शैक्षिक सामग्री चरणबद्ध रूपमा वितरण गरिनेछ। विपद्का कारण मानसिक तनावमा रहेका बालबालिकालाई मनोसामाजिक रूपमा सबल बनाउन तथा पठनपाठनमा सहज रूपमा फर्काउन विशेष मनोसामाजिक परामर्श कक्षा पनि सञ्चालन गरिने जनाइएको छ। नेविसंघले परिस्थितिलाई जति नै जटिल र चुनौतीपूर्ण भए पनि प्रभावित विद्यार्थीको शैक्षिक भविष्य सुरक्षित गर्दै उनीहरूलाई पुनः अध्ययनको मार्गमा फर्काउनु अभियानको सर्वोच्च प्राथमिकता रहेको जनाएको छ।  अभियानलाई कागजी घोषणामा मात्र सीमित नराखी उपलब्ध सामर्थ्य, सहकार्य र दृढ इच्छाशक्तिका साथ प्रभावित विद्यार्थीको पुनरुत्थानका लागि काम गर्ने प्रतिबद्धता पनि जनाएको छ।