SHARE
Samata Press · शुक्रबार​ १२ भौ २०८३ ०७:५७ PM · 1 मिनेट पढाइ

भोटेकोसी बाढीपीडितका लागि हिमालयन बुलियनको एक करोड एक लाख सहयोग

काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनः स्थापनाका लागि हिमालयन बुलियन कम्पनी लिमिटेडले एक करोड एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कम्पनीले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको २१ लाख रुपैयाँमा थप ८० लाख रुपैयाँ सहयोग गर्ने भएको हो । थप रकमसहित कम्पनीको कुल सहयोग एक करोड एक लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधिले उक्त सहयोग रकमको चेक अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरणका क्रममा कम्पनीका प्रतिनिधि राकेश कुमार अडुकिया, रोहन अडुकिया, भीष्म प्रसाद गौतम, जीवन घिमिरे र राजेन्द्र न्यौपानेलगायतको उपस्थिति थियो । नुवाकोट, रसुवा, धादिङलगायत भोटेकोसी तटीय क्षेत्रमा आएको बाढीबाट ठुलो जनधनको क्षति भएको भन्दै कम्पनीले विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित नागरिकको दुःखमा साथ दिने प्रतिबद्धता जनाएको छ । कम्पनीले सहयोग रकम खोज, उद्धार, तत्काल राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइएको जनाएको छ । सन् २००० मा स्थापना भएको हिमालयन बुलियनले काठमाडौँसहित बुटवल, वीरगन्ज, चितवन र कञ्चनपुरलगायत क्षेत्रमा व्यावसायिक गतिविधि विस्तार गरेको जनाएको छ । कम्पनीले आगामी दिनमा आईपीओमार्फत सर्वसाधारणलाई समेत आफ्नो स्वामित्वमा सहभागी गराउने तयारी गरिरहेको जनाएको छ । आईपीओको तयारीसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितका लागि ठुलो रकम सहयोग गरेको कम्पनीको भनाइ छ । कम्पनीले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ ।