SHARE
Samata Press · शुक्रबार​ १२ भौ २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : मृतकको सङ्ख्या ५३८ पुग्यो, ९७७ सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी (पूर्व) मा १३४, नवलपरासी (पश्चिम) मा २७, तनहुँमा २८ र चितवनमा १२१ रहेका छन् ।  गोरखामा फेला परेका मृतकको विवरणमा विभिन्न मानव अङ्गसमेत समावेश गरिएको प्राधिकरण्ले जनाएको छ । प्राधिरकणको प्रवक्ता शान्ति महतले बाढीपछि ९७७ जना सम्पर्कविहीन रहेको जानकारी दिइन् ।  सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका चार जना रहेका छन् । त्यस्तै, रसुवाबाट १६१ र नुवाकोटबाट एक जना सम्पर्कविहीन छन् ।   यसैगरी मकवानपुरबाट ६६ जना तथा ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ । नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ जना नेपाली समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका अनुसार बाढीबाट ७३ जना घाइते भएका छन् । घाइतेमध्ये रसुवाका ४३, धादिङका तीन र नुवाकोटका २७ जना रहेका छन् ।