SHARE
Samata Press · शुक्रबार​ १२ भौ २०८३ ०४:०६ PM · 1 मिनेट पढाइ

संरचना फेरि बनाउन सकिन्छ तर गुमेको जीवन फर्काउन सकिँदैन, सबै जुटौँ : कुलमान घिसिङ 

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा, जोखिममा परेकाहरूको उद्धार र तत्काल राहत व्यवस्थापन हुनुपर्ने बताएका छन्।  शुक्रबार एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष घिसिङले रसुवा आफ्नो पौरख र जीवनको महत्त्वपूर्ण समय जोडिएको क्षेत्र भएको स्मरण गर्दै चिलिमे तथा रसुवागढीलगायतका जलविद्युत् आयोजनामा पुगेको क्षतिले आफूलाई मर्माहत बनाएको बताएका छन्।  अध्यक्ष घिसिङले भने, ‘संरचना फेरि बनाउन सकिन्छ, तर गुमेका जीवन फर्काउन सकिँदैन। त्यसैले अहिले हाम्रो पहिलो प्राथमिकता एउटै हुनुपर्छ— मानव जीवन बचाउने, जोखिममा रहेकाहरूको उद्धार गर्ने र पीडित परिवारसम्म तत्काल राहत पुर्‍याउने। त्यसपछि प्रभावित परिवारलाई पुनः आफ्नो जीवनमा फर्काउन पुनःस्थापनाको काम अघि बढाउनुपर्दछ ।’ विपद्को सामना सरकार एक्लैको प्रयासले मात्र सम्भव नहुने भन्दै उनले सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्। ‘यो काम सरकारको मात्र जिम्मेवारी होइन, हामी सबैको साझा जिम्मेवारी हो। सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र आम नागरिक सबै एकजुट भएर संकटको सामना गर्नुपर्ने बेला हो । संसारभर छरिएर रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न हार्दिक आग्रह गर्दछु। हाम्रो सानो सहयोग पनि कसैका लागि ठूलो सहारा बन्न सक्छ,’ उनले भने। यसैगरी अध्यक्ष घिसिङले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त बनेका जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सडक पूर्वाधारको पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन्। त्यसका लागि आवश्यक बौद्धिक तथा भौतिक सहयोग गर्न आफूहरू सदैव प्रतिबद्ध रहेको उनको भनाइ छ। रसुवा, नुवाकोट र धादिङका प्रभावित नागरिक, राष्ट्रसेवक, व्यवसायी तथा पर्यटकहरूलाई धैर्य धारण गर्न आग्रह गर्दै उनले यो दुःखद घडीमा सिङ्गो देश साथमा रहेको ढाडस दिएका छन्।