माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी
सुनसरी । भीष्म अधिकारीले वार्षिक ५० लाख आम्दानी गर्न थालेका छन् । दश कट्ठा क्षेत्रफलबाट सुरु गरेको माछापालन १६ बिघामा पुगेपछि उक्त आम्दानी हुन थालेको हो । उनी बराहक्षेत्र नगरपालिका–९ का मेहनती किसान हुन् । उनले माछापालनबाट दाना, माछाका भूरा, कर्मचारीलगायत खर्च कटाएर वार्षिक रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन् । विसं २०५२ मा दश कट्ठाबाट माछापालन सुरु गरेका अधिकारीले हाल १६ बिघा क्षेत्रफलमा ३० वटा पोखरी निर्माण गरी सात प्रजातिका माछा पाल्दै आएका छन् । अधिकारीले रौ, नैनी, भाकुर, कमन, ग्रासलगायत सात प्रजातिका माछा पाल्दै आएका छन् । पोखरीमा उत्पादित माछा सुनसरीका इनरुवा, लौकही, कालाबञ्जर, इटहरी, झुम्कालगायतका बजारमा बिक्री हुने गरेको छ । अधिकांश व्यापारी पोखरीमै आएर माछा खरिद गरी लैजाने गरेका छन् ।
