SHARE
Samata Press · शुक्रबार​ १२ भौ २०८३ ०१:४४ PM · 1 मिनेट पढाइ

सरकार पूरै उद्धारमै केन्द्रित होस् : सांसद आङ्देम्बे

नुवाकोट । प्रमुख प्रतिपक्षी नेता भीष्मराज आङ्देम्बेले गृहमन्त्री सुधन गुरूङलाई बाढी प्रभावित नागरिकको उद्धार कार्य तीब्र पार्न सुझाव दिएका छन् ।  नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा गृहमन्त्री गुरूङसँग शुक्रबार मध्याह्न भेट गर्दै आङ्देम्बेले रसुवा, नुवाकोट र धादिङको थुप्रै बाढी प्रभावित नागरिक अभरमा परेको खबर प्राप्त भएको भन्दै पूर्ण क्षमतासहित उद्धारमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।  विभिन्न ठाउँदेखि उद्धारका लागि याचना भइरहेको छ, उनले गृहमन्त्री गुरूङलाई भने, "सरकार पूरै उद्धारमै केन्द्रित होस्" । हामी पनि सक्दो सहयोग गर्छौँ । नेता आङ्दम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि आवश्यक उद्धार कार्यलाई प्राथमिकता दिन आग्रह गर्ने बताए । म प्रधानमन्त्रीजीलाई पनि भन्नुपर्ने भन्छु, उनले भने, "यो विपदमा हामी सबैको पहिलो  दायित्व बाँचेकाको छिटो उद्धार गर्नु नै हो ।" उनका अनुसार रसुवाको स्याप्रुवेशी, टिमुरे, धुञ्चे, नुवाकोटको कोलोनी, विदुर नगरपालिकाको १, ४ र १० लगायत क्षेत्रमा थुप्रै नागरिक फसेका छन् । उनीहरूको हवाई उद्धार आवश्यक भएकोले ढिलाई गर्न नहुने बताए । उनले उद्धार नै पहिलो प्राथमिकता हुनुपर्ने भन्दै अनावश्यक रूपमा पटकपटक जिल्ला विपद् व्यवस्थापन समितिको बैठक राख्न नहुने बताए । कांग्रेसकै अर्का सांसद टेकबहादुर गुरूङले बाढी प्रभावित क्षेत्रकाे सडक अवरुद्ध भएको हुनाले शीघ्र पुन:निर्माण गरी उद्धार कार्य प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।