SHARE
Samata Press · शुक्रबार​ १२ भौ २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

बाढीपीडितको सहयोगमा प्रकाश सपुतको गलबन्दी प्रोडक्सन र फाउन्डेसनले दियो एक लाख

काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गलबन्दी प्रोडक्सन र गलबन्दी फाउन्डेसनले दुःख व्यक्त गर्दै विपद् प्रभावितको उद्धार तथा राहतका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ । गलबन्दी प्रोडक्सनका निर्देशक तथा गायक प्रकाश सपुतले प्रोडक्सन र फाउन्डेसनका तर्फबाट नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गरिएको जानकारी दिएका हुन् । बाढीमा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै, सम्पर्कविहीन भएकाको तत्काल खोज तथा उद्धार, घाइते र प्रभावित नागरिकको शीघ्र राहत तथा पुनः स्थापनाको कामना गरेका छन् । सहयोग रकम ठुलो नभए पनि दुःख र सङ्कटको घडीमा नेपाल र नेपालीबिचको सहअस्तित्व, सहयोग र सद्भावको संस्कारलाई जीवन्त राख्ने सानो प्रयास भएको गलबन्दी प्रोडक्सन र फाउन्डेसनले जनाएको छ । ‘विपद्को घडीमा समवेदना र श्रद्धाञ्जलीका शब्द प्रायः फिक्का हुन्छन्, संवेदना र सहयोग नै यति बेला सबैभन्दा ठुलो मानवीय साथ बन्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ । प्राकृतिक विपद्को कठिन घडीमा प्रभावित नागरिक र देशको साथमा ऐक्यबद्धतापूर्वक उभिनु सामाजिक उत्तरदायित्वसमेत भएकाले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध भएर विपद्को सामना तथा सम्भावित समाधानका लागि हातेमालो गर्न गलबन्दी प्रोडक्सन र फाउन्डेसनले आग्रह गरेको छ ।