रसुवा बाढी : रौतहटका सम्पर्कविहीनमध्ये ६ जना भेटिए, प्रहरीसहित १० जना अझै बेपत्ता
रौतहट । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन बनेका रौतहटका नागरिकमध्ये ६ जना परिवारको सम्पर्कमा आएका छन् । तर, एक प्रहरी हवलदारसहित १० जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । गत बुधबार आएको बाढीपछि रोजगारी तथा विभिन्न कामका सिलसिलामा रसुवामा रहेका रौतहटका १६ जना नागरिक सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको थियो । उनीहरूको खोजी भइरहेका बेला ६ जना सम्पर्कमा आएको प्रशासनले जनाएको हो । रौतहटका सिडिओ दिनेशसागर भुषालले शुक्रबार सूचना जारी गर्दै सम्पर्कमा आएका र अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेका छन् ।
