SHARE
Samata Press · बिहीबार ११ भौ २०८३ ०९:१३ PM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि गायिका रचना रिमालको १ लाख सहयोग, अस्ट्रेलियाका साङ्गीतिक कार्यक्रम स्थगित

काठमाडौँ । बाढी पहिरोबाट ठुलो जनधनको क्षति भएपछि गायिका रचना रिमालले राहत तथा उद्धारका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । साथै, विपद्का कारण देश शोकमा रहेका बेला उत्सव मनाउन उचित नलागेको भन्दै उनले अस्ट्रेलियामा तय भएका आफ्ना साङ्गीतिक कार्यक्रमसमेत तत्कालका लागि स्थगित गरेकी छन् । रिमाल हाल साङ्गीतिक कार्यक्रमका लागि अस्ट्रेलिया पुगेकी छन् । उनले सामाजिक सञ्जालमार्फत बाढी पहिरोका कारण धेरै परिवारले आफन्त तथा घरबार गुमाएको र धेरैको दैनिकी अस्तव्यस्त बनेको भन्दै आफूले पनि नागरिकको हैसियतले सकेको सहयोग गरेको जानकारी दिएकी हुन् । ‘देशका नागरिकको दुःख र पीडामा सकेको साथ दिनुपर्छ भन्ने भावनासहित मेरो तर्फबाट पनि आफूले सकेको आर्थिक सहयोग गरेको छु,’ उनले लेखेकी छन् । उनले विपद्मा परेका नेपालीको दुःखमा सबैले हातेमालो गर्न आग्रह गर्दै उद्धारपछि राहत र राहतपछि पुनः स्थापनाको चरणसम्म सबैको साथ आवश्यक रहेको बताएकी छन् । उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्न समेत अपिल गरेकी छन् । ‘यस्तो समयमा कार्यक्रम गर्न र उत्सव मनाउन मनले मानेन’ रिमालले भिडियो सन्देशमार्फत अस्ट्रेलियामा रहेका आफ्ना सबै साङ्गीतिक कार्यक्रम तत्कालका लागि स्थगित गरेको जानकारी दिएकी छन् । ‘अचानक आएको बाढी पहिरोको कारण धेरै नेपालीले आफ्नो घरबार र परिवार गुमाउनुभएको छ, धेरैको खुसी खोसिएको छ,’ उनले भनेकी छन्, ‘यस्तो समयमा मेरो मनले कार्यक्रम गर्न, रमाउन र उत्सव मनाउन मानिरहेको छैन ।’ उनले अस्ट्रेलियामा रहेका नेपालीको मनसमेत अहिले आफ्नै देशतर्फ रहेको बताउँदै तत्कालका लागि सबै कार्यक्रम स्थगित गरेको स्पष्ट पारेकी छन् । रिमालले आफूले आफ्नो तर्फबाट सहयोग गरिसकेको भन्दै सम्भव हुने सबैलाई विपद्मा परेकालाई सहयोग गर्न आग्रह गरेकी छन् । साथै बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सबैलाई सुरक्षित रहन आग्रह गरेकी छन् । यसअघि पनि बाढीपीडितको राहत तथा उद्धारका लागि विभिन्न कलाकारले आर्थिक सहयोग घोषणा गर्दै विपद्मा परेकालाई सहयोग गर्न सर्वसाधारणलाई आह्वान गर्दै आएका छन् ।