SHARE
Samata Press · बिहीबार ११ भौ २०८३ ०९:१५ PM · 1 मिनेट पढाइ

भोटेकोशीमा बाढी :  विपद् व्यवस्थापनका सबै चरणमा समान पहुँच सुनिश्चित गर्न माग

काठमाडौं। चीनको तिब्बती क्षेत्र हुँदै आएको बाढीका कारण रसुवाको रसुवागढीलगायत विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति जागरण मिडिया सेन्टर (जेएमसी) ले दुःख व्यक्त गरेको छ । जेएमसीकी अध्यक्ष एवम् संविधानसभा सदस्य कमला विश्वकर्माले बिहीबार प्रेस विज्ञप्तिमार्फत बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी सर्वसाधारण नागरिक, सुरक्षाकर्मी, कर्मचारी, पर्यटक तथा पशुचौपायाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेकी छन्।  बाढीका कारण स्थानीय नागरिकको जनजीवन प्रभावित हुनुका साथै सडक, पुल, विद्युत्, सञ्चार, घर तथा अन्य सार्वजनिक एवं निजी भौतिक संरचनामा क्षति पुगेको भन्दै जेएमसीले विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ । विपद्का समयमा सबैभन्दा बढी जोखिममा रहने दलित, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न तथा सीमान्तकृत समुदायको सुरक्षा, उद्धार र राहतमा विशेष प्राथमिकता दिनुपर्ने जेएमसीको भनाइ छ । विपद् व्यवस्थापनका सबै चरणमा सामाजिक समावेशिता, मानवअधिकार र समान पहुँच सुनिश्चित गर्न पनि उसले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । जेएमसीले बाढीका कारण अवरुद्ध सडक तथा यातायात, विद्युत् र सञ्चार सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन माग गरेको छ । साथै जोखिममा रहेका बस्तीको तत्काल प्राविधिक मूल्याङ्कन गरी थप क्षति हुन नदिन आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । प्राकृतिक विपद्लाई उद्धार र राहतमा मात्र सीमित नगरी विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तनको प्रभाव, सुरक्षित पूर्वाधार निर्माण, पूर्वसूचना प्रणाली तथा स्थानीय समुदायको क्षमता अभिवृद्धिसँग जोडेर दीर्घकालीन योजना बनाउनुपर्ने जेएमसीको धारणा छ ।