SHARE
Samata Press · बिहीबार ११ भौ २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

बाढीको क्षतिप्रति पूर्वप्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त, भनिन्- गास काटेर पनि सहयोग गरौँ

 काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेकी छन्। भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसहितका जिल्लामा ठूलो जनधनको क्षतिप्रति उनले दु:ख व्यक्त गरेकी हुन्। ‘यस अकल्पनीय, हृदयविदारक र पीडादायी विपद्मा परी ज्यान गुमाउनुहुने सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकसन्तप्त परिवारजन र तथा प्रियजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा उहाँहरूलाई धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु,’ उनले वक्तव्यमार्फत भनेकी छन्, ‘ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन हुनुभएको खबरले हामी सबैलाई थप मर्माहत बनाएको छ ।  उहाँहरूको खोजी तथा सकुशल उद्धारमा सफलता मिलोस् भन्ने प्रार्थना गर्दछु । सम्पर्कविहीन आफन्तको प्रतीक्षामा रहनुभएका परिवारजनलाई पनि धैर्य धारण गर्ने शक्ति मिलोस् । घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गर्दछु ।’ उनले पीडितहरूलाई दु:खको घडीमा एक्लो महसुस नगर्न भन्दै ढाडस दिएकी छन्। ‘दुःखको यस घडीमा तपाईंहरू कोही पनि एक्लो हुनुहुन्न । यो कुनै एक परिवार, समुदाय वा जिल्लाको मात्र दुःख होइन । यो हामी सबै नेपालीको साझा पीडा हो।  विपद्ले जहाँ प्रहार गरेको छ, त्यहाँ हाम्रो साथ, सहयोग र सहारा पुग्नुपर्छ । यस संकटबाट पार पाउन हामी सबै एक ठाउँमा उभिनुपर्छ, उभिनेछौँ,’ उनले भनेकी छन्, ‘खोजी, उद्धार, राहत, उपचार तथा पुनर्स्थापनाका कार्यमा अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, चालक दल, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, जनप्रतिनिधि, स्वयंसेवक, सामाजिक कार्यकर्ता तथा सहयोगमा जुट्नुभएका सम्पूर्ण महानुभावहरूको सक्रियता र समर्पणको उच्च प्रशंसा गर्दछु । यस कठिन घडीमा समाजका विभिन्न तह र तप्काबाट देखाइएको मानवीयता, सहकार्य र ऐक्यबद्धता अत्यन्तै प्रशंसनीय छ ।’ उनले स्वदेश तथा विदेशमा रहेका सबैलाई आफ्नो सामर्थ्यअनुसार सहयोग गर्न भनेकी छन्।  कसैका लागि सानो देखिने सहयोग विपद्मा परेका परिवारहरूलाई ठूलो भरोसा र आशाको आधार बन्ने उनको भनाइ छ। ‘आफ्नो गाँस काटेर भए पनि सहयोग गरौँ । सम्भव भएसम्म आउँदा चाडपर्वका केही खर्च कटाएर भए पनि आज संकटमा परेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको जीवन जोगाउन र घरपरिवार सम्हाल्न योगदान गरौँ । यो हाम्रो जिम्मेवारी, आत्मीयता र मानवताको अभिव्यक्ति पनि हो,’ उनले थप भनेकी छन्, ‘ उनले भनेकी छन्, ‘विपद्को समयमा हाम्रो सबैभन्दा ठूलो शक्ति हाम्रो एकता हो । आजको हाम्रो सहयोग र ऐक्यबद्धताले भोलिको आशा निर्माण गर्नेछ ।’ उनले छिमेकी राष्ट्र चीनतर्फबाट पनि ठूलो क्षति भएको जानकारी आएको बताउँदै दु:ख व्यक्त गरिन्। उनले नेपाल-चीन दुवै देशका सम्बन्धित संयन्त्रबीच प्रभावकारी समन्वय र सहकार्य गरी खोजी, उद्धार तथा राहतका कार्य अघि बढाउन पनि उनले आग्रह गरेकी छन्।