महिला मन्त्रालयबाटै महिला अधिकारी ‘लखेटिए’, सचिवदेखि सबै महाशाखा प्रमुख पुरुष
काठमाडौँ । नाममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय । कामको केन्द्रमा महिला अधिकार, लैङ्गिक समानता, महिला सशक्तीकरण र विभेदविरुद्धको नीति निर्माण । तर यही मन्त्रालयको नीतिगत नेतृत्वमा अहिले महिलाको उपस्थिति शून्य भएको छ । मन्त्रालयको नेतृत्व राजनीतिक रूपमा महिलाकै हातमा छ । मन्त्री छन्- सीता वादी । तर प्रशासनिक नेतृत्वमा भने ठ्याक्कै उल्टो छ। सचिवदेखि तीन वटै प्रमुख महाशाखाको नेतृत्व पुरुष सहसचिवको हातमा पुगेको छ । केही महिना अघिसम्म मन्त्रालयमा सचिवसहित दुई जना सहसचिव महिला थिए । अहिले सरुवाको शृङ्खलापछि सचिव र तीनै महाशाखा प्रमुख पुरुष भएका छन् । अझ मन्त्रालयको सबैभन्दा महत्त्वपूर्ण मानिने महिला सशक्तीकरण महाशाखाको नेतृत्वसमेत पुरुष सहसचिवको हातमा पुग्ने अवस्था बनेको छ ।
